काठमाडौं । स्वतन्त्रबाट निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर अन्तर्गत रहेका कर्मचारी तथा शिक्षकहरुलाई राजनीतिक दलको आबद्धता त्याग्न निर्देशन दिएका छन्।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’ विज्ञिप्तिमा मेयर साहले भनेका छन्, ‘साथै, राजनीतिक दल, भातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ।’
उनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड गले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था रहेको जनाउँदै यस्तो निर्देशन दिएका हुन्।


