काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ बाट नेकपा एमालेले प्रतिनिधिसभाको उम्मेदवारका लागि जिल्ला सदस्य बीपी ढकालको नाम सिफारिस गरेको छ ।
लामो समयसम्म सामाजिक र राजनीतिक अभियान चलाउँदै आएका समाजसेवी ढकालले पार्टीले आफ्नो नाम पनि समावेश गरेकोमा पार्टीको क्षेत्रीय कमिटीलाई धन्यवाद दिएका छन् । ‘पार्टीले मेरो मूल्यांकन गरेको छ, यसमा म खुशी छु, निर्वाचनमा जाँदा जित्छु भन्ने लागेको छ’ उनले भने ‘यो क्षेत्रमा मेरो राम्रो पकड छ, मेरो नाम आएपछि पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तहरु उत्साहित हुनुभएको छ ।’ ढकालले जनताका पक्षमा निरन्तर आवाज बोल्दै आएका छन् । ‘म हिजो पनि जनताकै पक्षमा बोल्थें र आज पनि बोलिरहेको छु’ उनले भने ‘माथिमाथि ठूला कुरा गरेर राजनीति हुँदैन भन्ने मैले बुझेको छु त्यसैले धरातलमा पुगेर राजनीति गर्दै आएको छु ।’
ढकालले आफ्नो गाउँठाउँमा हुने हरेक प्रकारका विकास निर्माणमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । हिजो राजनीतिबाहिर बसेर समाजसेवा गर्दा पनि जनताको हितमा काम गरेको दाबी गर्ने उनी अहिले जनताले नयाँ सोच भएका युवालाई खोजेकाले आफू स्वभाविक रुपमा दाबेदार भएको बताउँछन् । उनले कोरोना महामारीको समयमा पनि आफैं सम्बन्धित ठाउँमा पुगेर राहत बाँड्ने र पीडितलाई उपचार गराउन सहयोगी भूमिका खेलेका थिए । उनले आफ्नो क्षेत्रका समस्या र सम्भावनाका बारेमा पनि राम्रोसँग अध्ययन गरेका छन् ।
उनले सत्ता गठबन्धन भए पनि आफूलाई फरक नपर्ने बताएका छन् । ‘गठबन्धन छ भन्दैमा अब जनताले मत हाल्दैनन्, नेकपा एमाले जनताको पार्टी भएकाले यसप्रति सबैको आकर्षण छ’ उनले थपे ‘हिजो अचानक प्रधानमन्त्रीबाट केपी शर्मा ओली हट्नु नपरेको भए अहिले देशले विकास र समृद्धिमा नयाँ आयाम लिइसकेको हुन्थ्यो ।’ उनले देशी विदेशी चलखेलले ओलीलाई प्रधानमन्त्रीबाट हटाएको पनि आरोप लगाएका छन् ।


