काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
धरानमा खानेपानीको अभाव रहेको भन्दै उनले कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
मेयर हर्क साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरे ।
उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ ।


