काठमाडौं । जिल्ला कारागार कैलालीमा रहेका नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा भएका छन् । उनी कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।
नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।
उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिए ।
२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।


