काठमाडौं । आन्तरिक बिबादका कारण पार्टीमा फुट आएपछि जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
एक नेताले भने, ‘पार्टी विभाजन, भावी रणनीति र सरकारमाथिको समर्थनलगायतका विषयमा बैठकमा छलफल भयो । सरकारमाथिको समर्थन फिर्ता लिने लगायतका निर्णय भोलिको केन्द्रीय कमिटी बैठकमा थप परिपक्व हुनेछ । ब्याक हुने अवस्था छैन । ‘
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।
एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए ।


