काठमाडौं । मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीका तत्कालीन प्रमुख कुमार आचार्यसहित पाँच जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हदबन्दी लागेको जग्गा मन्दिरलाई दान गरे पनि आपसी मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रमुख मालपोत अधिकृत आचार्य, नायब सुब्बा लक्ष्मण न्यौपाने तथा अजितकुमार सहनी, खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतकान्त मिश्रमाथि सजायको माग राखेर अभियोगपत्र दर्ता भएको छ ।
उक्त भ्रष्टाचारजन्य कार्यमा प्रमुख मालपोत अधिकृत आचार्यसहित पाँचैजनाविरुद्ध जनही ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ ।


