काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको छ।
सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । बैठकमा कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।


