काठमाडौं । आज बस्ने प्रदेशसभाको बैठकबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत दिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।
एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन पार्टी केन्द्रबाट निर्देशन आएको जानकारी दिइसकेका छन् ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।


