काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो भारत जाँदै छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई नेपाली समयअनुसार साँझ साढे ७ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् ।
शपथग्रहण समारोहपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।