काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सकेसम्म सहमतिमै नेतृत्व टुंग्याउने प्रयास गरिने बताएका छन्।
दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टी नेतृत्व सहमतिमै टुंगियोस् भन्ने कार्यकर्ताको चाहना रहेकाले त्यसैको प्रयास गरिने बताएका हुन्।
पार्टीका दस्ताबेजहरू पनि सहमतिमै टुंगिएकाले नेतृत्व पनि सहमतिमै टुंगिने नेपालको विश्वास छ। ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ। राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रूपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ उनले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्ताको उत्साहको लहर चलेको छ। अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुंगो लगाइयोस् भन्ने चाहना हामीले सुनिरहेका छौँ।’


