काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने रहेको छ ।
यस्तै, सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यक्रम छ ।
यसैगरी, सभामुखले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।


