काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाले गर्दा नै देशमा गणतन्त्र आएको बताएका छन्।
पूर्व प्रधानमन्त्री देउवाले मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गरे। ‘गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,’ उनले भने।
गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उनले बताए।


