काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले उद्योगीहरुले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्नैपर्ने अडान राखेका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा घिसिङले बोर्ड बैठकको निर्णयअनुसार तीन महिनाका लागि विद्युत् महसुल नतिर्ने उद्योगको लाइन जोडिएको भन्दै त्यसपछि पनि बक्यौता नतिरे आवश्यक प्रक्रिया अघि बढ्ने बताए।
उनले अदालत र लेखा समितिको आदेशअनुसार नै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेबापतको बक्यौता रकम उठाउन खोजेको बताए। घिसिङले डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेबापत अधिकांश उद्योगहरूले बिलअनुसारको रकम तिरिसकेको भन्दै केही उद्योगहरूको बाँकी रहेको जानकारी दिए। उनले डेडिकेटेड लाइनको बिलिङमा कुनै समस्या नरहेको बताए।
बैठकमा ऊर्जामन्त्री दिपक खड्काले भने डेडिकेटेड र ट्रंकलाइन उपयोग गरेबापतको रकम लिनुपर्नेमा सरकार स्पष्ट रहेको बताए।


