काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जनतामा राम्रो सन्देश गएको बताएका छन् ।
उनले शनिबार ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन्। सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउने सोच सत्तारुढ गठबन्धनले लिएको उल्लेख गरे।
संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे। सचिव भट्टराईले दुई ठूला दलको सरकार बने यता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले मुलुकलाई सही दिशामा अघि बढाउने दावीसमेत गरे।


