काठमाडौं । आज पनि देशका सबै प्रदेशमा वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहने छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


