काठमाडौं । आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए ।
प्रजिअ गौतमका अनुसार शुक्रबार साँझसम्म उपचारका लागि अस्पतालमा पुर्याइएकासहित ज्यान गुमाउनेको संख्या २७ पुगेको हो।
गौतमका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । बसमा सबैजना भारतीय पर्यटक सवार थिए । भैरहवा नाका हुँदै छिरेको उक्त बसमा ४३ जना सवार रहेको खुलेको छ ।


