काठमाडौं । विहीबार देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।
अहिले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै बर्षा भइरहेको छ। बुधबार पनि काठमाडौँमा दिनभरि नै पानी परेको थियो।
आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने अनुमान छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ। कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ।


