काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएपछि एमालेले त्यसलाई काउण्टर जवाफ दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारको १०० दिन नपुग्दै प्रमुख प्रतिपक्ष दलको नेताले आलोचना गरेकोप्रति असन्तुष्टि जनाए ।
उनले भने, ‘आज दुःखका साथ भन्नुपर्छ, उहाँले यो नजिर तोड्नुभएको छ । उहाँले त्यतिमात्रै भन्नुभएन, लाञ्छित गरेर केसम्म भन्नुभयो भने सबै तपाईंहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस् भनेर । संविधान त पढ्नुस् नेताज्यू । प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, तपाईंले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन । त्यो एउटा संवैधानिक पद हो । त्यो तपाईंलाई पनि दिएको होइन । तपाईंको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वतः भएको हुनाले त्यो पार्टीलाई दिइएको हो । त्यो दललाई दिएको हो । मन लाग्दैन भने तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई । चाहिएन हामीलाई । किनभने हामीले लिन हुने पद पनि होइन । आफ्नै दलका कुनै नेतालाई दिनुस् ।’


