काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन लिएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् ।
उनले शनिबार जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ। प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘भारत लामो संस्कृति भएको छिमेकी मित्र हो। हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ। खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोर्पन मिल्दैन। सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन।’


