काठमाडौं । विहीबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड नजिकै बा. २० च २१८५ नम्बरको बोलेरो दुर्घटना हुँदा बेपत्ता भएका चालकसहित २ जना अझै भेटिएका छैनन् ।
स्थानीयबासीले शुक्रबार बिहान भोटेकोसी नदीमा गाडीको टायर देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटना थाहा पाइलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरे पनि भोटेकोशीमा बाढी आएको कारण करिब ७ घण्टापछि मात्रै क्रेनको सहायताले गाडी निकालिएको थियो ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ता यात्रुको खोजी गरिरहेको बताए । निरीक्षक पाण्डेले भने, ‘अहिले बिहान (करिब ११ बजेसम्म) उनीहरू फेला परेका छैनन्, खोजीकार्य जारी छ।’ पाण्डेले अहिलेसम्म दुर्घटनाग्रस्त गाडीमा चालकसहित २ जना मात्रै रहेको बताए । ‘हालसम्म हाम्रो मान्छे सम्पर्कमा छैनन् भनेर २ जनाको बारेमा मात्रै जानकारी आएको छ’, उनले भने ।
यसरी बेपत्ता हुनेहरुमा भोटेकोशी गाउँपालिका-५ का अन्दाजी ३८ वर्षका गाडी चालक सानु शेर्पा र बाह्रबिसे-९ की सुन्तली तामाङ रहेको पाण्डेले बताए ।


