काठमाडौं । आज (विहीबार) एकैदिन सङ्घीय संसद् अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै छ ।
संस्द सचिवालयका अनुसार अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी आज बिहान ११ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकको बैठक बस्दैछ । यस बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
बिहान ११ः३० बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
आजै दिउसो १ बजे नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।


