काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उद्घोष गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्ने क्रममा यस्तोबताएका हुन् । उनले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वविरुद्ध सशक्त खबरदारी गरिने बताए ।
अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको उनले आरोप लगाए ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।


