काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको राजधानी काठमाडौंको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।
लामोसमयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको मौसमविद्हरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।


