काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकाको वडा नं। ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा सडकमा ग्र्याब्लिंग र मेसिनरी काम नभई भुक्तानी दिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी भूमिराज कन्सट्रक्सनका प्रोपाइटर मान बहादुर बोहराको आपसी मिलेमतोमा उक्त भ्रष्टाचार भएको हो । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद,जरिवाना तथा बिगो असुलउपरको माग गरेको छ।


