काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता खिमलाल भट्टराईले खरो टिप्पणी गरेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फत बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको उल्लेख गरेका हुन् ।
भट्टराईले पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता प्रयोग गरेका शब्दावली एमालेको विचार र अभ्याससँग मेल नखाने बताएका छन् ।
भट्टराईले बादललाई यसअघि सैद्धान्तिक चेत भएका, कम बोल्ने र भद्र नेताको रूपमा आफूले लिएको उल्लेख गर्दै पछिल्लो अभिव्यक्तिले आफूलाई दुःख लागेको बताएका छन् । ‘व्यक्तिगत रूपमा उहाँलाई मैले सैद्धान्तिक चेत भएको कम बोल्ने भद्र नेताका रूपमा लिएको थिएँ । उहाँको यो भाषण देखेपछि पुरानो हो कि एआईले पो गडबड गरेछ कि भन्ने लागेर अलि बुझ्न खोजें । तर अहिलेकै र वास्तविक रहेछ । वास्तवमा मलाई दुःख लाग्यो,’ उनले लेखेका छन् ।


