काठमाडौं । निर्माण कम्पनीबाट चार करोड घुस लिएको आरोपमा पुरातत्व विभागका पूर्वं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) पूर्णबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको अनुसन्धानअनुसार कुल ६४ करोड २१ लाखभन्दा बढीको ठेक्का प्रक्रियामा संलग्न रहँदा इन्जिनियर श्रेष्ठले सहजीकरण गर्ने नाममा करिब ४ करोड २२ लाख ७५ हजार घुस लिएको खुलेको छ।
उक्त रकम सहायक पथ प्रदर्शक देउकला अधिकारीको बैंक खातामा विभिन्न मितिमा जम्मा गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार उक्त रकम प्रयोग गरी जग्गा, सुनलगायत सम्पत्ति खरिद गरिएको तथा गैरकानुनी स्रोत लुकाउने उद्देश्यले विभिन्न वित्तीय कारोबार गरेको पनि देखिएको छ।


