काठमाडौं । विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाली कांग्रेसमा आरोप- प्रत्यारोप झन् बढ्दै गएको छ । यसैबीच नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले विशेष महाधिवेशन गरेकै कारणले ३८ सिटमा खुम्चिएको टिप्पणी गरेका छन्।
उनले शनिबार कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’, खड्काले भने, ‘महाधिवेशन नभएको भए, रास्वापा पहिलो पार्टी हुन्थ्यो धेरैमा, ७०–८० सिट हुन्थ्यो। नेपाली कांग्रेस ६०–६५, नेकपा एमाले ३०–३५ र माओवादी १५–२० सिटमा हुन्थ्यो। विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो। रास्वपा दुई तिहाइ नजिक पुग्यो।’
कांग्रेसको एकता लागि आयोजना भएको विचार गोष्ठीमा उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको बताए।


