काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले आफूलाई सुम्पिएको जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनले आज यररोपेली संघ (ईयू) मा आबद्ध ३० मुलुकहरूका आवासीय तथा गैरआवासीय राजदूतहरूसँगको संयुक्त भेटमा क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ,’ उनले भने।
प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताए।
नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने उनले स्पष्ट पारे। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको उनको भनाइ थियो।


