काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगले सर्भेक्षक सुडीले २०४६ देखि २०८१ सम्मको अवधिमा तीन करोड ७१ लाख ८४ हजार ५५१ गैरकानुनी रुपमा आम्दानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोपपत्र दायर गरेको हो ।
सुडीले २०४६ सालदेखि २०८१ सम्मसम्म वैध आम्दानीतर्फ रु छ करोड तीन लाख पचासी हजार ३० वैधानिक आय आर्जन गरेको जनाएको छ । सर्भेक्षक सुडीले सबैतर्फ गरेर रु नौ करोड ७५ लाख ६९ हजार ५८१ बराबरको व्यय लगानी भेटिएको आयोगले जनाएको छ ।


