काठमाडौं । आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (सोमबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


