काठमाडौं । निकै लामो प्रयासपछि सत्ता समीकरण परिवर्तन हुने भएको छ । सोमबार राति प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ समीकरण बन्ने सहमति भएको हो ।
शीर्ष दलले सात बुँदामा सहमति गरेको दस्तावेजको मस्यौदा भने सार्वजनिक भएको छ। सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो।
शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ। दोस्रो चरणमा सभापति देउवा नेतृत्वमा सरकार बन्नेछ। देउवा नेतृत्वको सरकारले नै २०८४ को चुनाव गराउने छ।
सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ। साना दल सरकारमा सहभागी भएमा मन्त्रालयको संख्या घटबढ हुनेछ।


