काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गिरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले ६३ मत मात्रै पाए।
विश्वासको मतको विपक्षमा १९४ मत र एक जना तटस्थ बसे। प्रतिनिधिसभा बैठकमा कूल २५८ जना सांसद उपस्थित थिए। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मत अस्वीकृत भएको घोषणा गरे।
प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र एकीकृत समाजवादीका १० जना सांसदले मात्रै विश्वासको मत दिए। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गरे।


