काठमाडौं । आज बिहान ११ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक पाइलट भने जिवित रहेका छन् । बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो।
३७ वर्षीय क्याप्टेन मनीष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडा रहेको प्रहरीले जनाएको छ।
यसैबीच सरकारले सौर्य एयरलाइन्स दुर्घटना छानबिनका लागि रतीशचन्द्रलाल सुमन संयोजकत्वमा आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयाजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।


