काठमाडौं । आज गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष तीज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार तीजको व्रत भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ।


