काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै समुदायको योगदानकै कारण संविधानमा अधिकार सुनिश्चित भएको बताएका छन् ।
उनले आज ललितपुरको खोकनामा आयोजित मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताए।
नेवाःलगायत सबै समुदायको योगदानकै कारण संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेको र अहिले कार्यान्वयनको चरणमा रहेको उनले बताए।
प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जिकिर गरे।


