काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन्।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ।


