काठमाडौं । अध्यक्ष ओलीले निर्वाचन जित्न नसक्ने भन्दै केही नेतामाथि गरेको टिप्पणीप्रति नेता सुरेन्द्र पाण्डेले असन्तोष प्रकट गरेका छन्।
ओलीले हालैको एक अन्तर्वार्तामा हार्ने अवस्था देखिएकाले पार्टीका उपमहासचिव योगेश भट्टराई तथा नेताहरू सुरेन्द्र पाण्डे गोकुल बास्कोटा र बिन्दा पाण्डेलाई उम्मेदवार नबनाइएको भनेका थिए।
‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी होस यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो’, उनले लेखेका छन्, ‘टिकट वितरणको ुक्याल्कुलेसनुलाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। तसर्थ टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’


