काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ ।
निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।
निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए ।
उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उनले उल्लेख गरे।


