काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे प्रशिक्षित गर्न आजदेखि दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गर्दैछ ।
आज र भोलि होटल रोयल टुलिप, ग्वार्कोमा हुने दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ गरी १ सय ८२ सिट हासिल गरेको छ । अभिमुखीकरणमा सहभागी हुने नवनिर्वाचित सांसदहरुलाई ६ बुँदे निर्देशन समेत जारी गरिएको छ ।


