काठमाडौं । अख्तियार दुरुपयोग आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त हाकिम (आठौँ तह इन्जिनियर) किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ । यादव सेवामा प्रवेश गरेको २०४७र०३र३१ देखि २०८०र०९र२९ सम्मको अवधिको उनको आयव्यय जाँच गरिएको थियो ।
यस अवधिमा उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ देखिएको छ । तर, सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ खर्च गरेका छन् ।


