काठमाडौं । सरकारले निजामती क्षेत्रमा राजनीतिक दल निकट रहेका विभिन्न ट्रेड युनियनहरु खारेज गर्ने तयारी गरेसँगै उनीहरुले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरेर सो माग गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही वैशाख ११ गते शुक्रबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन, २०८१ बमोजिम आवश्यक सुझावका लागि सार्वजनिक गरेको थियो । यसरी सार्वजनिक हुनु सकारात्मक भएको उनीहरुले जनाएका छन् ।
उनीहरुले नेपालको संविधान २०७२को उपधारा २ को खण्ड घ मा प्रत्येक नागरिकलाई संघ र संस्था खोल्ने स्वतन्त्रता, धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने व्यवस्था गरेको र त्यसमा श्रमिकले ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामाजिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराएका छन् ।


