काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी छन्।
उनले आइतबार एमालेले बल्खुमा आयोजना गरेको ३३ औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा यस्तो दावी गरेकी हुन् ।
उनले मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक भएको बताइन्। भण्डारीले आश्रितलाई कुशल संगठकको रुपमा स्मरण गरिन्।
‘उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनिन्, ‘जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुऱ्याउनुभएको थियो।’


