काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूइतरका नेताहरूलाई पनि केन्द्रीय समितिमा समेट्न तयार रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “१४औँ महाधिवेशनमा निर्वाचित धेरै नेताहरू बाहिर हुनुहुन्छ । म सबैलाई समेटेर लैजान चाहन्छु । जो चाहनुहुन्छ उहाँलाई मानका साथ वरिष्ठ नेता बनाएर लैजानुपर्नेलाई वरिष्ठ नेता नै बनाएर सँगै लिएर काम गर्न चाहन्छु ।”
विशेष महाधिवेशनमा भाग लिएको र नलिएको आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने र निर्णयहरू नहुने उनले स्पष्ट पारे । उनले भने, “पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारका बारेमा होस्, चाहे संसदीय दलको बारेमा, स्थानीय सरकार र भ्रातृ संस्थाका बारेमा होस्, एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थिएन भन्ने आधारमा हुँदैन ।”


