काठमाडौं । आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान जारी बुलेटिनमा दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी आज काठमाडौँसहित ३९ जिल्ला र आसपास भएर बग्ने अन्य ससाना नदीहरूमा पनि आकस्मिक बाढी आउने र जोखिम निम्त्याउने सम्भावना छ।
बाढी महाशाखाले भनेको छ, ‘आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम ,धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरुको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’


