काठमाडौं । राष्ट्रपतिको सवारीका बेला हिडेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै बन्द गराएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको थियो।
यसैको विरोधमा संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।


