काठमाडौं । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेट गरेपछि धेरै कुरामा सहज वातावरण बनेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान नयाँदिल्लीमा सम्पादकहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’
उनले सीमा समस्या समाधानबारे मोदीले पहिलो पटक बोल्नु नै महत्वपूर्ण भएको बताए । ‘सीमा समस्याबारे मोदीले पहिलोपटक आफ्नो मुखबाट बोल्नु भनेको महत्त्वपूर्ण कुरा हो । मैले यसमा सुरुमै जोड दिएर राखेको थिएँ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो ।


