काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीको लागि आगामी निर्वाचन ‘लाइफ एन्ड डेथ’ भएको बताएका छन्। माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचनलाई सामान्य चुनावको रुपमा मात्रै नलिन आग्रह गरे ।
‘लाइडमा जाँदा हामी कसरी जान्थ्यौँ त्यसैगरी यो निर्वाचनमा जान जरुरी छ,’ उनले भने, ‘यो निर्वाचन सामान्य हुनेछैन।’ माओवादीलाई स्थानीय तह र अबका निर्वाचनमा परास्त गर्न धेरै शक्तिहरू लागेको उनको टिप्पणी थियो। दुईदलीय प्रणालीमा जाने बहस त्यसैको रूपमा प्रस्तुत भएको उनको भनाइ छ।
गठबन्धनको भरमा चुनाव जित्ने भ्रम निकाल्न उनले कार्यकर्तालाई आग्रह गरे। ‘गठबन्धनको भरमा निर्वाचन जितौँला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस्,’ उनले भने, ‘आफ्नो तागत र आफ्नै बलमा चुनाब लडौँ। जसरी पनि चुनाब जित्ने गरेर अघि बढौँ।’
पहिलो संविधानसभामा जनयुद्धको रापतापसहित निर्वाचनमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे।