काठमाडौं । अर्थमन्त्री रहेका जनार्दन शर्माले आफ्नो गुटको भेला गर्दै शक्ति आँकलन थालेका छन्।
माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले शनिबार काठमाडौंको ठमेलस्थित बुद्ध होटलमा देशभरबाट आफूनिकट माओवादी सञ्चारकर्मीहरूको भेला गरेर पार्टीभित्र आफ्नो हैसियत आकलन गर्दै आगामी योजनासमेत तय गरेका हुन्।
माओवादी केन्द्रका पत्रकारहरूको प्रेस संगठनमा आबद्ध आफू पक्षीय ३५–४० जना सहभागी भेलामा पार्टीको केन्द्रीय तहका नेता शर्माले मात्रै सम्बोधन गरेका थिए।
भेलामा सहभागी माओवादी सम्वद्ध एक पत्रकारका अनुसार शर्माले पार्टी सम्मेलन नजिकिँदै गरेको भन्दै देशभर आफ्नो पक्षमा माहोल बनाउन निर्देशन दिएका थिए।
‘देशभर मेरो माहोल के छ ब्रिफिङ र सुझाव लिन बोलाएको हुँ’, भेलामा शर्माको भनाइ उधृत गर्दै ती पत्रकारले भने, ‘माओवादी पार्टी तदर्थवादी भयो, तपाईंहरू मलाई साथ दिनुस्– अब नयाँ ढंगले जानुपर्छ।’
माओवादी पार्टीमा हालै भएको कार्य विभाजनबाट संगठन विभाग प्रमुखको जिम्मेवारी लिएका शर्मा पुसमा हुने सम्मेलनबाट संभवतः महासचिव बन्ने तयारीमा छन्। र, माओवादीभित्र महासचिव पदमा केन्द्रीय कार्यालय इन्चार्ज समेत रहेका पूर्वअर्थमन्त्री बर्षमान पुन र शर्माबीच टक्कर हुने चर्चा सुरु भएको छ।