काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा उपमहानगरपालिकाको सिट बाँडफाँडमा सहमति हुन नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ ।
सत्तारुढ गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच मंगलबार महानगरको नेतृत्व बाँडफाँटमा भने सहमति जुटेको थियो ।
जसअनुसार सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाउनेछ भने पोखराको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीले लिने र भरतपुर महानगर नेकपा माओवादी केन्द्रले लिनेछ ।