काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किनासाथ आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा एमसीसीबारे दिएको अभिव्यक्तिपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन्।
विमानस्थलमा पत्रकारको जिज्ञासमा प्रधानमन्त्री देउवाले संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए।
एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग बेलायतमै भएको भेटका क्रममा एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य गराएकामा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौं भनेर जवाफ दिएको देउवाले जानकारी गराएको सञ्चारकर्मीलाई सुनाएका थिए।
एमसीसीका डेपुटी सीईओले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयोु, देउवाले भने, यस विषयमा यहाँका सत्ता साझेदार दलसँग कुराकानी भइरहेको छ भनेको छु।
यसलाई एमाले उपाध्यक्ष रावलले राष्ट्रघातको संज्ञा दिएका छन्। साथै पठाइएको पत्र सार्वजनिक गर्न पनि रावलले माग गरेका छ्न्।
‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रम देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो’, देउवाको अभिव्यक्ति सार्वजनिक भएलगत्तैजसो रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्। यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’